मुस्ताङ, २२ भदौ २०८३
भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी–केरुङ पूर्ण रूपमा अवरुद्ध भएपछि सरकारले मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा चलायमान बनाएको छ। रसुवागढीका साथै तातोपानी नाका पनि सञ्चालनमा आउन नसकेपछि कोरला नाकाबाट मालवस्तुको आयात बढ्न थालेसँगै सरकारले त्यहाँका भन्सार तथा वनस्पति (प्लान्ट) क्वारेन्टाइन कार्यालयमा थप कर्मचारी खटाउने निर्णय गरेको छ।
भन्सारमा छ कर्मचारी थपिँदै
नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले भन्सार विभागले कार्यालयका लागि छ जना कर्मचारी काजमा पठाउने तयारी गरेको जानकारी दिए। उनका अनुसार भन्सार विभागले तीन जना अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी खटाउने निर्णय गरेको हो।
“तीन–तीन जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ। लगातारको बिदाले उहाँहरू आउन ढिलाइ भएको हो। कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्नुहुन्छ,” चुडालले भने।
दरबन्दीअनुसार जनशक्ति पुग्ने
कोरला नाकास्थित भन्सार कार्यालयको दरबन्दी १८ जनाको रहेकामा हाल १२ जना मात्रै कार्यरत छन्। थप छ जना कर्मचारी पुगेपछि कार्यालयमा दरबन्दीअनुसारको जनशक्ति उपलब्ध हुनेछ। रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भई रोकिएका सयौँ कन्टेनरमा रहेका फलफूल तथा वनस्पतिजन्य वस्तुको परीक्षण गर्नुपर्ने भएकाले न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयलाई पनि सक्रिय बनाउन थालिएको चुडालले बताए।
क्वारेन्टाइनमा थप जनशक्ति
न्हेचुङस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार केन्द्रबाट पठाइएका तीन जना कर्मचारी जोमसोम आइपुगेका छन्। भन्सार विभागसँगको समन्वयमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक वरिष्ठ बाली संरक्षण अधिकृत र एक कम्प्युटर अपरेटरलाई काजमा मुस्ताङ पठाएको उनले जानकारी दिइन्। क्वारेन्टाइन कार्यालयमा पाँच जनाको दरबन्दी रहेकामा हाल एक जना प्राविधिक सहायक मात्रै कार्यरत रहेको बताइएको छ।
आवास र पूर्वाधार व्यवस्थापन चुनौती
भन्सार र क्वारेन्टाइनमा कर्मचारी थपिए पनि उनीहरूको आवास तथा कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन भने चुनौतीपूर्ण रहेको भन्सार प्रमुख चुडालले बताए। करिब ४ हजार ६५० मिटर उचाइमा रहेको कार्यालयको सीमित पूर्वाधारकै बीच कोरला नाका पूर्ण रूपमा नसञ्चालन हुँदा उपल्लो मुस्ताङका नागरिकका लागि अन्तदेशीय अल्पकालीन हाटबजार लाग्दा मात्रै बर्सेनि दुई पटक सीमित समयका लागि भन्सार कार्यालय सक्रिय हुने गरेको उनले उल्लेख गरे।
आयात व्यवस्थापनका लागि सहयोग
रसुवागढी–केरुङ नाकाबाट मुस्ताङको कोरला नाकातर्फ फिर्ता पठाइएका मालवस्तुको जाँचपास व्यवस्थापनका लागि चोभार र पोखरा भन्सार कार्यालयको समेत सहयोग लिइने व्यवस्था गरिएको छ। मालवस्तुको सहज आपूर्ति तथा भन्सार प्रक्रिया सहज बनाउन भन्सार विभागले सहयोग गर्ने जनाइएको छ।
दैनिक ५० भन्दा बढी कन्टेनर भित्रिन थाले
रसुवागढी–केरुङ नाका बन्द हुनुअघि दैनिक आठदेखि दस कन्टेनर मात्रै आवतजावत गर्ने गरेकामा हाल कोरला नाकाबाट दैनिक ५० भन्दा बढी कन्टेनर भित्रिन थालेका छन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि दशैँ–तिहारजस्ता चाडपर्वका लागि चीनबाट ल्याइने मालवस्तु कोरला हुँदै भित्र्याउने क्रम बढेको हो।
थप जनशक्ति परिचालनसँगै मुस्ताङ भन्सार तथा क्वारेन्टाइन कार्यालयको कार्यसम्पादन थप गतिशील हुने अपेक्षा गरिएको छ।




