काठमाडौं, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भोटेकोशी बाढीबाट भएको क्षतिबारे टेलिफोन संवाद भएको छ।
वार्ताका क्रममा विदेशमन्त्री रुबियोले बाढीमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए। उनले विपद्को समयमा नेपाल र नेपाली जनतासँग अमेरिकी सरकारको साथ रहेको बताएका थिए।
रास्वपाका अनुसार लामिछानेले बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी रुबियोलाई दिएका थिए। राहत वितरण र उद्धारका लागि सरकारले उपलब्ध स्रोत तथा जनशक्ति परिचालन गरिरहेको पनि उनले बताएका थिए।
लामिछानेले नेपालमा रहेका विदेशी नागरिकको सुरक्षालाई समेत सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारेका थिए। नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
संवादका क्रममा लामिछानेले विपद्को समयमा अमेरिकाले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका थिए। जवाफमा रुबियोले आवश्यक परेको अवस्थामा नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय क्षतिपछि जारी उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासबारे दुई पक्षबीच कुराकानी भएको रास्वपाले जनाएको छ।




