२४ भदौ, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपास रहेको छ।
हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यीमध्ये केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कहाँ-कहाँ भारी वर्षा ?
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई भूभाग तथा बागमती र गण्डकीका हिमाली, पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा भने मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने सम्भावना छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा अवरोध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




