रसुवाको बाढीमा खोज तथा उद्धार तीव्र, १३ हजार ६४६ जनाको उद्धार

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, उपचार तथा राहत वितरण कार्यलाई तीव्र बनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २४ गते बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोज तथा उद्धार अभियान जारी रहेको छ।

प्राधिकरणका अनुसार हालसम्म १ हजार ३६७ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ। मृत्यु भएकाहरूको शव रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम तथा काठमाडौँमा फेला परेको छ।

विभिन्न जिल्लामा फेला परेका शव

  • रसुवा : १७४
  • नुवाकोट : १९७
  • धादिङ : ७०
  • गोरखा : ७५
  • तनहुँ : ३८
  • चितवन : ३६३
  • नवलपरासी पूर्व : २२६
  • नवलपरासी पश्चिम : २२२
  • काठमाडौँ : २

हालसम्म सनाखत भई बुझिलिएका शवको संख्या १०२ रहेको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा तस्बिर तथा नाताप्रमाणित विवरणसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ।

५ हजारभन्दा बढी सम्पर्कविहीन

विपद्पछि करिब ५ हजार १३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। त्यसमध्ये रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन्।

रसुवाबाट सम्पर्कविहीनमध्ये १ हजार ३३३ जना रसुवा जिल्लाका नागरिक, १ हजार २५६ जना अन्य जिल्लाका नागरिक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी, ७३ जना सरकारी कर्मचारी तथा २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी रहेका छन्।

त्यस्तै, नुवाकोटबाट १ हजार ९७३ जना सम्पर्कविहीन छन्। त्यसमध्ये नुवाकोटका ६५१ जना र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना नागरिक रहेका छन्। बाढीका कारण करिब ५८७ जना विदेशी पर्यटक पनि प्रभावित भएको विवरणमा उल्लेख छ।

१३ हजार ६४६ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोली निरन्तर परिचालित छन्।

अस्पतालमा हालसम्म विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ, जसमध्ये २५२ जना उपचारपछि घर फर्किएका छन्। सुरक्षा निकायबाट पनि ठूलो संख्यामा घाइते तथा प्रभावितको उपचार गरिएको छ। नेपाली सेनाबाट ३ हजार ५३५ जना र सशस्त्र प्रहरीबाट ३ हजार २८७ जनाको उपचार गरिएको छ।

३७ आश्रय केन्द्रमा ३ हजार ६२८ जना

बाढी प्रभावितका लागि विभिन्न स्थानमा ३७ वटा अस्थायी आश्रय केन्द्र सञ्चालनमा छन्। ती केन्द्रमा हाल ३ हजार ६२८ जना आश्रय लिइरहेका छन्।

  • रसुवा : ७३३ जना
  • नुवाकोट : २ हजार ६९९ जना
  • धादिङ : १९६ जना

१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि १३ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

  • नेपाल प्रहरी : ७ हजार ९७५ जना
  • नेपाली सेना : १ हजार ७ जना
  • सशस्त्र प्रहरी बल, नेपाल : ४ हजार २०३ जना

हेलिकोप्टरबाट निरन्तर उद्धार

बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार तथा राहत पुर्‍याउने कार्य पनि जारी छ। भदौ २२ गतेसम्म नेपाली सेनाले १ हजार ८४६ पटक हवाई उडान गरेको छ। भदौ २४ गते नेपाली सेनाले थप २१ उडान गरेको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपालले बाढी प्रभावित क्षेत्रमा २८५ पटक हवाई उडान गरेको प्राधिकरणले जनाएको छ।

सरकारद्वारा करोडौँ रुपैयाँ नगद राहत

बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारले विभिन्न जिल्लामा नगद सहयोग उपलब्ध गराएको छ।

  • रसुवा : १ करोड रुपैयाँ
  • नुवाकोट : १ करोड रुपैयाँ
  • धादिङ : ५० लाख रुपैयाँ
  • प्रभावित १५ पालिका : १३ करोड ५० लाख रुपैयाँ

यससँगै प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्यान्न राहत सामग्री सडक र हवाई मार्गबाट निरन्तर पठाइरहेको प्राधिकरणले जनाएको छ।

इन्धन आपूर्ति पनि निरन्तर

प्रभावित क्षेत्रमा इन्धनको उपलब्धता कायम राख्न ४९ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ। साथै ४५७ वटा ग्यास सिलिन्डर पनि प्रभावित क्षेत्रमा पठाइएको छ।

मनोसामाजिक परामर्श सेवा सञ्चालन

विपद्का कारण प्रभावित नागरिकमा परेको मानसिक तथा मनोसामाजिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्राधिकरणले सडक तथा हवाई मार्गबाट प्रभावित जिल्लामा खाद्यान्न र गैरखाद्यान्न सामग्री निरन्तर पठाइरहेको जनाएको छ। राहत सामग्री व्यवस्थापनमा सरकारी, गैरसरकारी तथा निजी विकास साझेदार र नागरिक समाजको निरन्तर सहयोग रहेको पनि प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन व्यक्ति, उपचाररत तथा उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको फेसबुक पेज तथा वेबसाइटमा समेत हेर्न सकिने जनाइएको छ। साथै, सम्पर्कविहीनको विवरणमा पहिचान नखुलेका तथा उद्धार गरिएका व्यक्तिहरू समावेश हुन सक्ने भएकाले तथ्याङ्क अद्यावधिक भइरहेको प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर