२५ भदौ, काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक आज बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ।
प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव समेत प्रस्तुत गरिनेछ।
राष्ट्रिय सभामा मानव अधिकार आयोगको प्रतिवेदन
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
उक्त प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूचीसमेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ।




