आज ३१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज आइतबार थप ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ। वडा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो। ती अधिवेशनबाट सम्बन्धित वडाका कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको समितिले जनाएको छ।

आज बाँकी ३१ जिल्लामा वडा अधिवेशन सञ्चालन गरी वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने तयारी गरिएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने स्थानीय परिस्थितिको मूल्यांकन गरी वडा अधिवेशनको नयाँ मिति तय गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशन उत्साहजनक रूपमा अघि बढिरहेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट सुरु भएको अधिवेशन क्रमशः माथिल्ला तह हुँदै महाधिवेशनतर्फ अघि बढ्नेछ।

 

प्रतिक्रिया
सम्बन्धित खबर