एसिसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल: मलेसियामाथि ९ विकेटको प्रभावशाली जित

नेपालले एसिसी मेन्स यू–१९ प्रिमियर कप २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार युएईमा भएको सेमिफाइनलमा नेपालले मलेसियामाथि ९ विकेटको एकतर्फी जित निकाल्दै उपाधिसम्मको दूरी छोट्याएको हो। फाइनलमा पुगेसँगै नेपालले यू–१९ एसिया कपमा पनि आफ्नो स्थान पक्का गरेको छ।

मलेसियाले दिएको ५२ रनको सानो लक्ष्य नेपालले ७.५ ओभरमै पूरा गर्‍यो।
नेपालका वंशी क्षेत्रीले नटआउट २३ रन र निश्चल क्षेत्रीले नटआउट १५ रन बनाए। ओपनर निरज यादव ४ रनमा आउट भएका थिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो।
पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमै ५१ रनमा अलआउट भयो। उसका आठ जना शीर्ष ब्याटर दोहोरो अंकमा पुग्न नसके। हम्जा पाङगीले १३ रन बनाए, जुन टोलीका लागि सर्वाधिक थियो।

नेपालका नितेश पटेलले सर्वाधिक ४ विकेट लिए। उनले ८ ओभरमा २ मेडन राख्दै २४ रन खर्चिए। चन्दन रामले ५ ओभरमा १ मेडनसहित ७ रनमा ३ विकेट हात पारे। कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अप्राजित पौडेलले १–१ विकेट जोडे।

अब नेपालले उपाधिका लागि सोमबार घरेलु टोली युएई वा ओमानमध्ये विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खबर