संघीय निर्वाचनमा सक्रिय सहयोग गर्न राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी संघीय संसद् निर्वाचनमा विदेशस्थित गैरआवासीय नेपाली (एनआरएन) समुदायले सक्रिय भूमिका निभाउन आग्रह गरेका छन्। बुधबार शीतल निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले विदेशमा बसोबास गर्ने नेपालीहरू देशको समृद्धि र विकासका यात्रासँग जोडिनु अत्यावश्यक भएको बताए।

भेटका क्रममा राष्ट्रपति पौडेलले एनआरएनहरूले वर्षौँदेखि उठाउँदै आएका एनआरएन नागरिकता, मताधिकार तथा लगानीसम्बन्धी विषयलाई सरकार तहमा अझै व्यापक छलफल र पहलमार्फत अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा भेटमा पुगेको प्रतिनिधिमण्डलले संघका प्रमुख मुद्दाहरू राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो।
अध्यक्ष डा. केसीले हाल लागू भएको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रियामा देखिएका जटिलता र अध्यादेशमार्फत उत्पन्न भएका अस्पष्टताहरू समाधान गर्न अनुरोध गरे।

अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थाभित्रको विवाद अन्त्य भइसकेको र अब संघ नेपालको समृद्धिका लागि केन्द्रित हुँदै अघि बढ्न लागेको जानकारी दिए। साथै, उनले नेपालको निर्वाचनमा गैरआवासीय नेपालीहरूलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग दोहोर्‍याए।

भेटका क्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशका महत्वपूर्ण राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

प्रतिक्रिया
सम्बन्धित खबर