निर्धारित मितिमै प्रतिनिधि सभा निर्वाचन हुने सुनिश्चित : मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन गराउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले निर्वाचनका लागि आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी पनि दिएका छन्।

रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले हालै सुरु भएको उज्यालो नेपाल अभियान छोटो समयमै पार्टीको रूपमा स्थापित भई देशव्यापी रूपमा फैलिएको बताए। एक महिनाअघि मात्रै अभियानका रूपमा सुरु भएको यो पहलले आम जनताको उल्लेखनीय समर्थन पाएको उनको भनाइ थियो।

उनले उज्यालो नेपाल पार्टीले ७०–८० वर्षदेखि सक्रिय पुराना पार्टीहरूलाई परास्त गर्दै बहुमत ल्याएर सरकार गठन गर्ने साहसिक लक्ष्य लिएको उल्लेख गरे। “परिवर्तनको चाहना बोकेको यो पार्टीले नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्नेछ,” उनले विश्वास व्यक्त गरे।

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा सहभागी भएपछि आफूले विगतका मन्त्रीहरूभन्दा फरक शैली र सोचका साथ काम गरिरहेको दाबी गर्दै मन्त्री घिसिङले सुशासन, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकता दिएको बताए।

प्रतिक्रिया
सम्बन्धित खबर