शीतल निवासमा उच्चस्तरीय राजनीतिक सहमति: फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई कुनै अवरोध बिना सफलतापूर्वक सम्पन्न गर्ने साझा समझदारी बनेको छ।

मंगलबार दिउँसो आयोजित उक्त छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी थिए। छलफलमा वर्तमान राजनीतिक परिस्थितिबाट मुलुकलाई निकास दिने प्रमुख उपाय निर्वाचन नै भएको निष्कर्षमा नेताहरू पुगेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो। “निर्वाचनको घोषणा यही गम्भीरतालाई मध्यनजर गर्दै गरिएको हो, त्यसलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै पोखरेलले बताए।

उनका अनुसार राष्ट्रपति पौडेलको आग्रहमा बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरू सहमत भएका छन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गरेको यो पहिलो अवसर हो, जसलाई राजनीतिक स्थिरताका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर