स्विट्जरल्यान्डको स्की रिसोर्टस्थित बारमा भीषण आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित एक बारमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समयअनुसार बिहीबार बिहान करिब १:३० बजे ‘ली कन्स्टेलिसन’ नामक बारमा आगलागी भएको हो। उक्त बार स्विट्जरल्यान्डको भालिस क्षेत्रमा अवस्थित एक लोकप्रिय पर्यटकीय स्थलमा पर्दछ।

आगलागीपछि उद्धार तथा आगो नियन्त्रणका लागि रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र करिब १५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो। यद्यपि मृतक र घाइतेको ठ्याक्कै संख्या अझै यकिन हुन नसकेको अधिकारीहरूले बताएका छन्।

धेरै व्यक्ति आगोमा जलेर गम्भीर घाइते भएका छन्। भालिसस्थित सियोन अस्पतालमा मात्र ६० जना घाइतेलाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरैजसो अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

गम्भीर घाइतेहरूलाई विशेष बर्न्स युनिट भएका स्विट्जरल्यान्डका अन्य सहर—लोजान, ज्युरिख र जेनेभाका विश्वविद्यालय अस्पतालहरूमा पनि सारिएको छ। लोजान युनिभर्सिटी अस्पतालमा २२ जना र ज्युरिख युनिभर्सिटी अस्पतालमा १२ जनाको उपचार भइरहेको छ।

यस दुर्घटनामा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। इटालीको विदेश मन्त्रालयका अनुसार १६ जना इटालियन नागरिक बेपत्ता छन् भने १२ देखि १५ जना अस्पतालमा उपचाररत छन्। फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको जनाएको छ र मृतकमध्ये फ्रान्सेली पनि हुन सक्ने सम्भावना नकार्न नसकिने बताएको छ।

तीन जना इटालियन नागरिकलाई मिलानस्थित ठूलो बर्न्स युनिट भएको निघुवार्दा अस्पतालमा सारिँदैछ, जसको शरीरको ३०–४० प्रतिशत भाग जलेको इटालियन काउन्सिलर गुइडो बर्तोलासोले जानकारी दिएका छन्।

अधिकारीहरूले मृतकको पहिचान र घाइतेको उपचारलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्। पीडित परिवारसँग सहजीकरणका लागि +४१ ८४८ ११२ ११७ नम्बरको हेल्पलाइन पनि सञ्चालनमा ल्याइएको छ।

राज्य काउन्सिलर स्टेफान गान्जरका अनुसार नयाँ वर्षको पार्टीका कारण बारमा युवाहरूको ठूलो भीड थियो। आगलागी कसरी भयो भन्ने विषयमा अटर्नी जनरल बियाट्रिस पिलुदको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ। चम्किने फ्लेयरसहितका स्याम्पेन बोतल वा साँघुरा सिँढीहरू आगलागीको कारण हुनसक्ने हल्लाबारे भने अनुसन्धान नसकिएसम्म केही पुष्टि गर्न नसकिने उनले स्पष्ट पारेकी छन्।

स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौं लाग्न सक्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर