कांग्रेसको आधिकारिकता दाबी गर्न गगन थापासहितको टोली निर्वाचन आयोगमा

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन्। पार्टीको आधिकारिकता दाबी गर्न उनीहरू आवश्यक कागजातसहित बिहीबार कान्तिपथस्थित आयोग पुगेका हुन्।

यसअघि थापा नेतृत्वमा कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो। बैठकपछि दोस्रो विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण दस्तावेज बोकेर पदाधिकारीहरू आयोग पुगेका हुन्।

नेताहरूका अनुसार मङ्सिर २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनबाट पारित विधान, निर्वाचन प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्ने निवेदन, समानुपातिक सूची अद्यावधिक गर्ने प्रस्ताव तथा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची आयोगमा बुझाइएको छ।

कांग्रेस नेतृत्वले कानुनी प्रक्रियाअनुसार पार्टीको आधिकारिकता सुनिश्चित गर्न आवश्यक सबै कागजात पेश गरिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर