काठमाडौं, १३ माघ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने विभिन्न वस्तुमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि १५ प्रतिशत रहेको आयात शुल्क बढाएर २५ प्रतिशत बनाउने निर्णय उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मार्फत सार्वजनिक गरेका हुन्।
ट्रम्पले यो कदमलाई ‘रेसिप्रोकल ट्यारिफ’ अर्थात् पारस्परिक आयात शुल्क नीतिअन्तर्गतको निर्णय बताएका छन्। उनका अनुसार, कुनै देशले अमेरिकी उत्पादनमा उच्च शुल्क लगाउँछ भने अमेरिकाले पनि सोही देशबाट आउने वस्तुमा समान रूपमा उच्च ट्यारिफ लगाउने नीति अवलम्बन गर्छ।
उनले दक्षिण कोरियाले गत वर्ष भएको द्विपक्षीय व्यापार सम्झौतालाई “ठीकसँग कार्यान्वयन नगरेको” आरोप लगाउँदै ट्यारिफ वृद्धि आवश्यक भएको दाबी गरेका छन्। ट्रम्पका अनुसार, दक्षिण कोरियाली संसदले सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको छ, जबकि अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफहरू छिटै घटाइसकेको छ।
यद्यपि, दक्षिण कोरियाले भने यस विषयमा आफूलाई अमेरिकाबाट कुनै औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएको छ। साथै, यस निर्णयबारे तत्काल वार्ता आवश्यक रहेको धारणा पनि कोरियाली पक्षको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दक्षिण कोरियाबाट अमेरिकाले ठूलो मात्रामा औद्योगिक र उच्च प्रविधिका सामग्री आयात गर्छ। विशेषगरी कार र अटो पार्ट्स (हुन्डाई, किआ जस्ता ब्रान्ड), सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टिभी, डिस्प्ले प्यानल, भारी मेसिनरी, रासायनिक पदार्थ, स्टिल तथा धातुजन्य सामग्री, औषधि र मेडिकल उपकरण, जहाज तथा समुद्री उपकरण, साथै लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरू प्रमुख वस्तुमा पर्छन्।
यी क्षेत्रमा ट्यारिफ वृद्धि हुँदा दुवै देशका उद्योग, निर्यातकर्ता र उपभोक्तामा प्रत्यक्ष आर्थिक असर पर्न सक्ने अनुमान गरिएको छ। व्यापार सम्बन्धमा थप तनाव बढ्ने सम्भावनाबीच अब दुई देशबीचको कूटनीतिक तथा व्यापारिक वार्ता महत्वपूर्ण हुने देखिन्छ।




