ट्रम्प–मोदी टेलिफोन वार्तापछि ऐतिहासिक व्यापार सम्झौता: भारतसँग व्यापारिक सम्बन्ध सुदृढ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता पश्चात् दुई देशबीच महत्वपूर्ण व्यापारिक सम्झौता भएको छ। अमेरिकामा भारतीय वस्तुहरूमा लाग्ने कर (ट्यारिफ) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत गर्ने निर्णय भएको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत घोषणा गरेका छन्।

सम्झौताअनुसार भारतले रुसी तेलको आयात बन्द गर्ने तथा अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट बढि तेल खरिद गर्ने निर्णयमा सहमत भएको ट्रम्पले बताएका छन्। यससँगै रुसी तेल सम्पर्कका कारण भारतमाथि लागेका अतिरिक्त २५ प्रतिशत जरिवाना कर पनि हटाइनेछ।

प्रधानमन्त्री मोदीको आग्रहमा तत्काल अघि बढाइएको यो व्यापारिक सम्झौतामा भारतले आगामी समयमा ऊर्जा, प्रविधि, कृषि तथा कोइला लगायत विभिन्न क्षेत्रको ५०० अर्ब डलरभन्दा बढी मूल्यको अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। साथै, दुवै पक्षले व्यापार अवरोधलाई न्यूनतममा ल्याउने आश्वासन दिएका छन्।

गत अगस्टमा ट्रम्प प्रशासनले भारतीय वस्तुहरूमा कर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबीच व्यापारिक सम्बन्धमा चिसोपन उत्पन्न भएको थियो। त्यसपछि भारतले यूरोपेली युनियनसँग ऐतिहासिक व्यापार सम्झौता सम्पन्न गरेको थियो। तर हालैको नयाँ सहमतिले दक्षिण एसियाली बजारमा अमेरिकाको आर्थिक सहभागिता पुनः सुदृढ हुने देखिएको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै यस सम्झौताले दुवै देशका जनतालाई लाभ पुग्ने र नयाँ अवसरका ढोकाहरू खुल्ने विश्वास व्यक्त गरे। उनले १ अर्ब ४० करोड भारतीय जनताका तर्फबाट पनि यो निर्णय स्वागतयोग्य भएको बताए।

अमेरिकाभित्र केही साना व्यवसायीहरू ‘वी पे द ट्यारिफ’ समूहले नयाँ कर दरलाई स्थायी कर वृद्धिको रूपमा हेरिएको आलोचना गरेका छन्। तर यो घोषणा पश्चात् अमेरिकी शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यम)

प्रतिक्रिया
सम्बन्धित खबर