जापानको औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

टोकियो/काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन्। उनी जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन जापान पुगेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै सम्बोधन गरे। उनले दुई देशबीचको ऐतिहासिक मित्रता, आपसी सहकार्य र भविष्यका साझेदारीका क्षेत्रबारे प्रकाश पारेका थिए।

त्यस्तै, राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए। साथै, उनले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

राष्ट्रपतिले भ्रमणका क्रममा जापानी व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नुका साथै जापानमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेका थिए। उनले टोकियोस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपश्चात् नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्ना दूतावास स्थापना गरेका थिए। राष्ट्रपति पौडेल औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर