मध्यपूर्व तनावबीच १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा सरकार सतर्क, दूतावासमार्फत निरन्तर निगरानी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा इजरायल–अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण खाडी मुलुकहरूमा रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर चिन्ता बढेको छ । यस अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपालीको सुरक्षाबारे उच्च सतर्कता अपनाएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ । यी देशहरूमा करिब १७ लाख २९ हजार नेपाली काम तथा अध्ययनका लागि बसोबास गरिरहेका छन् ।

यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको छ । २८ फेब्रुअरीमा भएको ड्रोन आक्रमणमा नेपाल, भारत र बंगलादेशका एक–एक जनाको मृत्यु भएको थियो । श्रेष्ठको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

मन्त्रालयका अनुसार यूएईमा भएको आक्रमणका कारण केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये अधिकांश सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै उपचाररत छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले निरन्तर निगरानी गरिरहेको र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेको बताए । आवश्यक परे सुरक्षा सम्बन्धी एडभाइजरी समेत जारी गरिएको छ ।

मध्यपूर्वमा रहेका नेपालीको विवरण अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा आइतबारसम्म ५४ हजार ७ सय ८६ नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन् । प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

तनाव बढ्दै गएपछि वैदेशिक रोजगार विभागले साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने श्रमिकका लागि दिइने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गरेको छ । साथै ती देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई दिइने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि रोकिएको छ ।

वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी एक्सन रुम’ स्थापना गरी २४ घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । उक्त संयन्त्रमार्फत दूतावासहरू, सम्बन्धित मन्त्रालय तथा नेपाली समुदायसँग समन्वय गरी आवश्यक सहयोग र सम्भावित उद्धारका तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै विभिन्न विमानस्थलमा ट्रान्जिटमा परेका नेपाली यात्रुको समस्या समाधानका लागि पनि नेपाली नियोगहरूले समन्वय गरिरहेका छन् । कुवेतमा ट्रान्जिटमा रहेका करिब ५० नेपालीलाई नेपाली दूतावासले स्थानीय समुदायको सहयोगमा खानपान र बसोबासको व्यवस्था मिलाएको छ ।

हाल कतार र कुवेतको आकाश उडानका लागि बन्द भए पनि साउदी अरब र ओमानतर्फ केही उडान पुनः सञ्चालन भएका छन् । यूएईमा पनि सीमित उडान सञ्चालन भइरहेको छ ।

मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपालीलाई संयमित र सचेत रहन, स्थानीय सरकार तथा नेपाली दूतावासले जारी गरेका निर्देशन पालना गर्न र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । साथै संवेदनशील स्थानमा फोटो, भिडियो वा अडियो सामग्री खिचेर सामाजिक सञ्जालमा साझा नगर्न समेत विशेष अनुरोध गरिएको छ ।

सरकारले त्यहाँस्थित दूतावास र नियोगहरूसँग निरन्तर समन्वय गर्दै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चालिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर