हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगै पूर्वी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको आंशिक असर देखिएको छ। यसका कारण देशका हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।
विशेषगरी मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोचहरूमा गर्मी बढ्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा तातो लहरसमेत चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।




