काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव कायम रहेको छ । यही कारण देशका विभिन्न भागमा बदली, वर्षा र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागसहित कोशी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आज गर्मी बढ्ने र तातो दिनको अनुभूति हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र चट्याङ्गको सम्भावना रहेको छ। साथै, मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।




