इजरायल–लेबनन पूर्ण युद्धविराममा सहमत, इरान–अमेरिका तनाव समाधानको आशा बढ्यो

इजरायल र लेबनन अमेरिकाको मध्यस्थतामा पूर्ण युद्धविराम लागू गर्न सहमत भएका छन्। दक्षिणी लेबननमा इरान समर्थित हिजबुल्लाह समूह र इसराइली सेनाबीच जारी द्वन्द्व रोक्ने प्रयासस्वरूप भएको यो सहमतिलाई मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

इरानले अमेरिकासँग हुने कुनै पनि सम्भावित सम्झौताका लागि इजरायल–लेबननबीचको संघर्ष अन्त्यलाई प्रमुख सर्त बनाएको थियो। त्यसैले यो सहमतिले इरान र अमेरिकाबीच जारी तनाव तथा सैन्य टकराव अन्त्य हुने सम्भावना पनि केही बढाएको विश्लेषण गरिएको छ।

बुधबार जारी संयुक्त विज्ञप्तिमा इजरायल र लेबननले हिजबुल्लाहले दक्षिणी लेबननबाट आफ्ना लडाकु फिर्ता बोलाउने र इजरायलविरुद्धका सबै आक्रमण रोक्ने सर्तमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न सहमति जनाएको उल्लेख गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार युद्धविराम कार्यान्वयनका लागि दक्षिणी लिटानी क्षेत्रमा हिजबुल्लाहको सम्पूर्ण सैन्य उपस्थिति हटाइनुका साथै इजरायलमाथिका सबै आक्रमण पूर्ण रूपमा बन्द हुनुपर्नेछ।

यद्यपि यो सम्झौताले लामो समयदेखि जारी द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्न सक्छ वा सक्दैन भन्ने विषयमा अझै अनिश्चितता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसअघि अप्रिलमा अमेरिकाकै पहलमा भएको युद्धविराम पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको थियो।

हालसम्म हिजबुल्लाहले नयाँ सम्झौताबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन भने इसराइली सेनाले केही क्षेत्रमा सैन्य गतिविधि जारी राखेको बताइएको छ।

फेब्रुअरी अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेको थियो। त्यसको जवाफस्वरूप इजरायलले मार्च महिनामा लेबननभित्र सैन्य कारबाही विस्तार गरेको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग प्रत्यक्ष संवाद गरी तनाव नियन्त्रण गर्न दबाब दिएपछि मंगलबार आंशिक युद्धविराम घोषणा भएको थियो। त्यसपछि वार्ताले गति लिँदा दुवै पक्ष पूर्ण युद्धविराम कार्यान्वयनमा सहमत भएका हुन्।

विश्लेषकहरूका अनुसार यो सहमति सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वमा जारी अस्थिरता कम हुनुका साथै इरान–अमेरिका सम्बन्ध सुधारतर्फ पनि नयाँ वातावरण सिर्जना हुन सक्छ।

(समाचार स्रोत: बीबीसी)

प्रतिक्रिया
सम्बन्धित खबर