संघीय संसद्को दुवै सदन आज बस्दै, बजेटमाथि महत्वपूर्ण छलफल हुने

काठमाडौं — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु हुने कार्यसूची रहेको छ। विभिन्न मन्त्रालयका लागि प्रस्तावित बजेट तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुने तय भएको छ।

यता, राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफललाई निरन्तरता दिइनेछ।

बैठकमा उठेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमाथि संसद्का दुवै सदनमा हुने छलफललाई सरकारको आर्थिक नीति, विकास प्राथमिकता तथा राजस्व व्यवस्थापनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर