दक्षिण कोरियामाथि कठिन जित निकाल्दै मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली

काठमाडौं, ५ असार । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित हासिल गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। दक्षिण कोरियामाथि १–० को संघर्षपूर्ण विजय निकाल्दै मेक्सिको प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो।

शुक्रबार बिहान ग्वाडालाजारा स्टेडियममा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा मिडफिल्डर लुइस रोमोले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ५० औँ मिनेटमा विपक्षी टोलीको रक्षात्मक कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए।

दक्षिण कोरियाका गोलकिपर किम सेउङ-ग्यु आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएपछि बल नियन्त्रणमा राख्न असफल भए। त्यसपछि फुत्किएको बललाई रोमोले सहजै खाली पोस्टतर्फ प्रहार गर्दै मेक्सिकोलाई अग्रता दिलाए।

खेलभर बल पोजिसन र पास एक्युरेसीमा दक्षिण कोरिया अगाडि रहे पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन। खेलको ८७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गर्ने उत्कृष्ट मौका पाएको थियो। तर, चो ग्वे-सुङको नजिकैबाट गरिएको हेडरलाई मेक्सिकन गोलकिपर राउल रङ्गेलले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे।

दुवै टोलीले खेलमा समान ८–८ सट प्रहार गरेका थिए। यद्यपि, लक्ष्यतर्फको सटमा मेक्सिकोले ४ र दक्षिण कोरियाले २ सट मात्र प्रहार गर्न सफल भए।

यो जितसँगै मेक्सिकोले समूह ‘ए’ बाट दुई खेलमा ६ अंक जोड्दै एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान पक्का गरेको छ। दक्षिण कोरियाको खातामा ३ अंक रहेको छ र उसको अर्को चरणमा पुग्ने सम्भावना अझै कायम छ।

समूहको अन्य दुई टोली चेक गणतन्त्र र दक्षिण अफ्रिकाले दुई खेलबाट समान १–१ अंक जोडेका छन्। त्यसैले दुवै टोलीको पनि नकआउट चरणमा पुग्ने सम्भावना जीवितै रहेको छ।

विश्वकप २०२६ को नयाँ ढाँचाअनुसार कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका ८ टोलीले पनि राउन्ड अफ ३२ मा स्थान बनाउने व्यवस्था रहेको छ।

सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो। यसपटक घरेलु समर्थकको साथमा मेक्सिकोले पुनः उत्कृष्ट प्रदर्शन गर्दै उपाधि यात्रालाई बलियो बनाएको छ।

(तस्बिर स्रोत: फिफा डट कम)

प्रतिक्रिया
सम्बन्धित खबर