आज विश्वकपमा मेस्सी र एमबाप्पेको चमक देखिने, अर्जेन्टिना–फ्रान्स लगातार दोस्रो जितको खोजीमा

८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति फुटबलप्रेमीहरूको नजर दुई सुपरस्टार खेलाडीमाथि केन्द्रित रहनेछ। अर्जेन्टिनाका कप्तान मेस्सी र फ्रान्सका कप्तानएमबाप्पे आज आफ्नो टोलीका लागि मैदानमा उत्रँदै छन्।

समूह ‘जे’ अन्तर्गत डिफेन्डिङ च्याम्पियन अर्जेंटीनाले अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ। डलास रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः४५ बजे सुरु हुनेछ। उद्घाटन खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै टोलीलाई ३–० को जित दिलाएका मेस्सीबाट समर्थकहरूले पुनः उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।

अर्जेन्टिनाले पहिलो खेलमा प्रभावशाली जित निकालेको थियो भने अस्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै सुखद सुरुआत गरेको थियो। यस खेलमा अर्जेन्टिनाका रोड्रिगो डे पॉल र जुलियन अल्भरेज महत्वपूर्ण भूमिकामा रहने अपेक्षा गरिएको छ। अस्ट्रियाका अनुभवी खेलाडी डेभिड अलाबा र मार्सेल सबिट्जर टोलीको मुख्य भरोसा रहनेछन्।

यता समूह ‘आई’ अन्तर्गत फ्रान्स र इराकबीचको खेल नेपाली समयअनुसार बिहान २ः४५ बजे फिलाडेल्फिया रंगशालामा हुनेछ। पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको फ्रान्स लगातार दोस्रो जित निकाल्दै नकआउट चरणतर्फको यात्रा सहज बनाउन चाहन्छ।

फ्रान्सका कप्तान एमबाप्पेमाथि फेरि सबैको ध्यान केन्द्रित हुनेछ। गोलरक्षक माइक मैग्ननको प्रदर्शन पनि फ्रान्सका लागि महत्वपूर्ण रहनेछ। अर्कोतर्फ, पहिलो खेलमा नर्वेसँग ४–१ ले पराजित भएको इराक पुनरागमनको लक्ष्यसहित मैदानमा उत्रनेछ। इराकले आफ्ना प्रमुख आक्रमणकारी आयमेन हुसेनबाट निर्णायक प्रदर्शनको अपेक्षा गरेको छ।

हालान्डलाई रोक्ने सेनेगलको चुनौती

समूह ‘आई’ कै अर्को खेलमा नर्वे र सेनेगल आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार मंगलबार बिहान ५ः४५ बजे हुने खेलमा नर्वेका स्टार फरवार्ड अर्लिङ हालान्ड फेरि आकर्षणको केन्द्रमा रहनेछन्। इराकविरुद्ध ह्याट्रिक गरेका हालान्ड उत्कृष्ट लयमा छन्।

नर्वेका कप्तान मार्टिन ओडेगार्ड र हालान्डको संयोजन टोलीको प्रमुख शक्ति मानिएको छ। सेनेगलले भनेसाडियो माने र निकोलस ज्याक्सन मार्फत नर्वेमाथि दबाब सिर्जना गर्ने प्रयास गर्नेछ।

जोर्डन र अल्जेरियामाथि जित्नै पर्ने दबाब

समूह ‘जे’ अन्तर्गत जोर्डन र अल्जेरियाबीच पनि महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो खेलमा पराजित भएकाले प्रतियोगितामा जीवित रहने सम्भावना बलियो बनाउन जित अपरिहार्य बनेको छ।

जोर्डनले अस्ट्रियासँग ३–१ को हार बेहोरेको थियो भने अल्जेरिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। दुवै टोलीबीच विश्वकप इतिहासमै पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो भने अरब राष्ट्रहरूबीचको यो विशेष भिडन्तलाई चासोका साथ हेरिएको छ।

जोर्डनका अली ओल्वान र मुसा अल-तामारी टोलीका मुख्य आशा हुन्। अल्जेरियाले भने अनुभवी रियाद महारेज तथा अमाइन गौइरी माथि भरोसा गर्नेछ।

आजका खेलहरूले समूह चरणको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ, जहाँ मेस्सी, एमबाप्पे र हालान्डजस्ता विश्व फुटबलका चर्चित ताराहरू फेरि एकपटक आफ्नो जादु देखाउन तयार छन्।

प्रतिक्रिया
सम्बन्धित खबर