काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घट्दै कारोबार भइरहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार यही सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य दबाबमा रहेको छ। बुधबार सुन प्रतिऔंस ४ हजार ६६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेकाले सुनचाँदीको मूल्यमा लगातार परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।




