मंगलबार र बुधबार देशभर वर्षा बढ्ने, पहाडी र तराई क्षेत्रमा बाढी–पहिरो तथा डुबानको उच्च जोखिम

काठमाडौं । आगामी मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि तीव्र भई मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले विशेष मौसमी बुलेटिन–१ जारी गर्दै असार १६ र १७ गते मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ।

यस्तै, देशका अधिकांश पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा र हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै जाँदा मनसुन बाँकी भूभागमा पनि सक्रिय रूपमा फैलिने अनुमान गरिएको छ।

विभागका अनुसार सम्भावित वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्नेछ। साथै, शहरी तथा तराईका क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।

यसको प्रभाव दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत पर्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर