२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को बहुप्रतीक्षित प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिना र अफ्रिकाको बलियो टोली इजिप्ट मंगलबार आमनेसामने हुँदैछन्। अमेरिकाको एटलान्टामा हुने यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ। विश्वकप इतिहासमा यी दुई राष्ट्रबीचको यो पहिलो भेट हुनेछ।
विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना उपाधि रक्षा अभियानलाई निरन्तरता दिने लक्ष्यमा छ भने इजिप्ट पहिलो पटक क्वार्टरफाइनल पुगेर नयाँ इतिहास रच्ने योजनामा मैदान उत्रनेछ।
नकआउटमा दुवैले कठिन परीक्षा पार गरे
अर्जेन्टिनाले राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो। त्यस्तै इजिप्टले निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई ४–२ ले हराउँदै विश्वकप इतिहासकै पहिलो नकआउट जित दर्ता गरेको थियो।
मेसीमाथि फेरि सबैको नजर
विश्वकपमा अर्जेन्टिना खेल्ने हरेक अवसरमा सबैभन्दा बढी चर्चा लियोनल मेसीकै हुने गरेको छ। विपक्षी टोलीको प्रमुख रणनीति मेसीलाई नियन्त्रण गर्ने हुन्छ भने अर्जेन्टिनाको योजना उनको सिर्जनात्मक खेलबाट अधिकतम लाभ उठाउनेमा केन्द्रित हुन्छ।
३९ वर्षको उमेरमा पनि मेसीले असाधारण प्रदर्शनलाई निरन्तरता दिएका छन्। उनले जारी विश्वकपका चारै खेलमा गोल गर्दै संयुक्त रूपमा सर्वाधिक सात गोल गरेका छन्। साथै विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, लगातार आठ खेलमा गोल गर्ने तथा छ संस्करण विश्वकप खेल्ने जस्ता ऐतिहासिक कीर्तिमान आफ्नो नाममा गरिसकेका छन्।
यस खेलमा असिस्ट गर्न सफल भए मेसी विश्वकप इतिहासमा सर्वाधिक नौ असिस्ट गर्ने खेलाडी बन्नेछन्।
अर्जेन्टिनाको प्रभावशाली यात्रा
फिफा वरीयताको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्दै उत्कृष्ट लय देखाएको थियो। उसले अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० तथा जोर्डनलाई ३–१ ले पराजित गरेको थियो। त्यसपछि केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै नकआउट यात्रा कायम राखेको हो।
१९औँ विश्वकप खेलिरहेको अर्जेन्टिनाले यसअघि तीन पटक विश्वकप उपाधि जितिसकेको छ भने तीन पटक उपविजेतामा सीमित भएको इतिहास छ।
इजिप्टको ऐतिहासिक अभियान
सात पटक अफ्रिकी च्याम्पियन बनिसकेको इजिप्टले यस संस्करणमा अहिलेसम्म कुनै खेल हारेको छैन। समूह चरणमा बेल्जियमसँग १–१ को बराबरी खेलेको इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले हराएको थियो भने इरानसँग पनि १–१ को बराबरी खेलेको थियो।
समूह उपविजेताका रूपमा नकआउट चरण पुगेको इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक अन्तिम १६ को बाधा पार गरेको हो। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ९२ वर्षपछि पहिलो पटक समूह चरण पार गर्दै नयाँ इतिहास बनाएको छ।
हेड टु हेड
विश्वकपमा अर्जेन्टिना र इजिप्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन्। समग्रमा भने यी दुई टोलीबीच यो तेस्रो भेट हुनेछ।
यसअघि भएका दुवै खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९२८ को ओलम्पिक फुटबलमा अर्जेन्टिनाले इजिप्टलाई ६–० ले पराजित गरेको थियो भने सन् २००८ मा कायरोमा भएको मैत्रीपूर्ण खेलमा २–० को जित निकालेको थियो।
टोलीको अवस्था
अर्जेन्टिनाको टोलीमा ठूलो चोटको समस्या छैन। यद्यपि लगातार खेलका कारण केही खेलाडीमा थकान देखिएको छ। कप्तान मेसी र रोड्रिगो डे पउलले अन्तिम ३२ को खेलमा पूरा १२० मिनेट खेलेका थिए। नाहुएल मोलिना र फाकुन्डो मेडिनाले सामान्य असहजता महसुस गरे पनि उनीहरू खेल्न तयार हुने अपेक्षा गरिएको छ।
इजिप्टका लेफ्ट ब्याक मोहम्मद अब्देलमोनेम र सेन्टर ब्याक अहमद फातोहको खेल्ने सम्भावना कम रहेको बताइएको छ। कप्तान मोहम्मद सलाह पनि ह्यामस्ट्रिङ समस्यासँग जुधिरहेका छन्, यद्यपि उनी टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडी रहनेछन्।
नजरमा रहने खेलाडी
अर्जेन्टिनाका लागि लियोनल मेसी सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। उनीबाट फेरि एकपटक निर्णायक प्रदर्शनको अपेक्षा गरिएको छ। साथै लामो समयदेखि गोलका लागि संघर्ष गरिरहेका लाउटारो मार्टिनेज र जुलियन आल्भारेजले पनि नकआउट चरणमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाउनेछन्।
इजिप्टका कप्तान मोहम्मद सलाह टोलीका सबैभन्दा अनुभवी र प्रभावशाली खेलाडी हुन्। क्लब फुटबलमा उल्लेखनीय सफलता हासिल गरिसकेका सलाहले आफ्नो देशलाई पहिलो पटक विश्वकपको नकआउट जित दिलाएका छन्। दुई गोल गरिसकेका इमाम आशुर पनि इजिप्टका प्रमुख आक्रमणकारीका रूपमा रहनेछन्।
विश्व फुटबलका दुई फरक शैलीका टोलीबीच हुने यो प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिना उपाधि रक्षा अभियानलाई अघि बढाउने लक्ष्यमा हुनेछ भने इजिप्ट अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्वकपमा नयाँ अध्याय लेख्ने सपना बोकेर मैदान उत्रिनेछ। सबैको नजर भने फेरि एकपटक लियोनल मेसीको प्रदर्शनमै रहने निश्चित छ।




