पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई गति दिन सरकारको विशेष सुविधा, अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा

७ साउन, काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने उद्देश्यसहित वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न शुल्कमा विशेष छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०८५ साल भदौ मसान्तसम्म लागू हुने गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।

यसका साथै, विमानस्थलमा प्रदान गरिने ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ। यसबाट पोखरालाई अन्तर्राष्ट्रिय हवाई गन्तव्यका रूपमा स्थापित गर्न र थप विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले सरकारको यो निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न सहज वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।

यसैबीच, फ्लाई दुबई ले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सञ्चालन गर्ने तयारी पूरा गरेको छ। विश्वकै प्रमुख ट्रान्जिट हब मानिने दुबईसँग पोखरा सिधै जोडिएपछि युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने नेपाली र विदेशी यात्रुले सहज तथा छिटो सेवा प्राप्त गर्नेछन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला का अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ भने फ्लाई दुबईले टिकट बुकिङसमेत खुला गरिसकेको छ। उनका अनुसार यो उडान सञ्चालनमा आएपछि यात्राको समय र खर्च दुवैमा कमी आउनेछ।

पर्यटकीय राजधानीका रूपमा परिचित पोखरा अब विदेशी पर्यटकका लागि पनि अझ सहज पहुँचको गन्तव्य बन्ने अपेक्षा गरिएको छ। साथै, वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा घुमफिरका लागि अरब मुलुकसहित अन्य देश जाने यात्रुहरूलाई पनि यस उडानबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाई दुबईलाई दैनिक दुबई–पोखरा–दुबई उडान सञ्चालनको अनुमति दिएको थियो। सरकारको चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न आवश्यक कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाइएको थियो।

करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारको पछिल्लो निर्णय र फ्लाई दुबईको उडानसँगै अब विमानस्थलले अपेक्षित अन्तर्राष्ट्रिय सक्रियता प्राप्त गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर