काठमाडौं — वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हिंसात्मक आक्रमणको विरोधमा नेपाल मेडिकल एसोसिएसन (एनएमए) ले देशभरका अस्पतालमा आपत्कालीन सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ। चिकित्सकहरूको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै एसोसिएसनले दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।
गत शनिबार नारायणी अस्पतालभित्र चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि स्वास्थ्य क्षेत्र नै आक्रोशित बनेको हो। घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा नल्याइएको भन्दै चिकित्सकहरूले विरोधका कार्यक्रमलाई थप सशक्त बनाएका छन्।
नेपाल मेडिकल एसोसिएसनले सरकारसमक्ष केही प्रमुख माग अघि सारेको छ। आक्रमणमा संलग्न सबै व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित र मर्यादित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने, सुरक्षाकर्मीबाट हुने दुर्व्यवहार तथा अनावश्यक डरत्रासको अन्त्य गर्नुपर्ने तथा घटनास्थलका सीसीटीभी फुटेजका आधारमा दोषीहरूको पहिचान गरी कडा सजाय दिनुपर्ने माग एसोसिएसनले गरेको छ।
आन्दोलनको प्रत्यक्ष प्रभाव नारायणी अस्पतालमा देखिएको छ। अस्पतालका करिब ७० जना चिकित्सकमध्ये ३० जनाले राजीनामा बुझाइसकेका छन् भने आइतबारदेखि त्यहाँ आपत्कालीन सेवासमेत प्रभावित भई अधिकांश स्वास्थ्य सेवा बन्द भएको छ। आन्दोलनको प्रभाव निजी अस्पतालहरूमा समेत परेको छ, जहाँ नियमित उपचार सेवा अवरुद्ध भएका छन्।
यता, पर्सा जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई आइतबार पक्राउ गरिएको जनाएको छ। यद्यपि पक्राउ परेका व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन। चिकित्सकहरूले भने एक जनाको पक्राउ मात्र पर्याप्त नभएको उल्लेख गर्दै घटनामा संलग्न सबै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइएपछि मात्र आन्दोलनका कार्यक्रम पुनर्विचार गरिने स्पष्ट पारेका छन्।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भए पनि सेवा प्रदायक चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा तथा सम्मान सुनिश्चित गर्नु राज्यको दायित्व भएको चिकित्सकहरूको भनाइ छ। उनीहरूले स्वास्थ्य संस्थालाई हिंसामुक्त, सुरक्षित र निर्भय कार्यस्थलका रूपमा स्थापित गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।




