काठमाडौँ । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले बजार अनुगमन कडा पारेको छ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा अभाव देखाएर महँगो मूल्यमा बिक्री भइरहेको भन्दै गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा अनुगमन तीव्र बनाएका हुन्।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार अनुगमनलाई प्रभावकारी बनाइएपछि ग्यास आपूर्ति क्रमशः सहज बन्दै गएको छ।
काठमाडौँ उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवको आग्रहमा गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएका छन्।
सरकारले कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।




