संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने तय भएको छ, जहाँ विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सभामा प्रस्तुत गर्ने कार्यसूची छ। साथै, उनले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछिन्।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

उता, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजका बैठकहरूमा विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू अघि बढाइने भएकाले संसद्को गतिविधि चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर