काठमाडौं, ४ भदौ — नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३०० रुपैयाँले वृद्धि हुँदै ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ रहेको थियो। पछिल्लो मूल्यवृद्धिसँगै सुनले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ।
गत बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ रहेको थियो। यस आधारमा पछिल्लो एक महिनामा सुनको मूल्य २८ हजार ८०० रुपैयाँ, अर्थात् १०.११ प्रतिशतले बढेको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।
यता चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ५९५ रुपैयाँ थियो।
एक महिनाअघि साउन ४ गते प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदीको मूल्य हाल ५३५ रुपैयाँ अर्थात् १२.३८ प्रतिशतले वृद्धि भएको महासंघले जनाएको छ।




