जापानमा ५.९ म्याग्निच्युडको भूकम्प: टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली धक्का, सुनामीको जोखिम छैन

काठमाडौं, ७ भदौं — जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी टोकियोसहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा जमिनबाट करिब ७० किलोमिटर गहिराइमा गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणले भने यसको तीव्रता ५.८ म्याग्निच्युड मापन गरेको छ।

भूकम्पका कारण इबाराकी, चिबा र साइतामा प्रिफेक्चरमा कम्तीमा पाँच जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले थप क्षतिको विवरण संकलन भइरहेको बताएका छन्।

भूकम्पपछि टोकियो र नारिता अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने एक्सप्रेस रेलसहित केही स्थानीय रेल सेवामा अस्थायी ढिलाइ भएको थियो। तर, शिन्कान्सेन (बुलेट ट्रेन) सेवा भने सामान्य रूपमा सञ्चालनमा रहेको जनाइएको छ।

टोकियोको कोतो क्षेत्रमा भूमिगत पानीको पाइप फुट्दा केही स्थानमा क्षति पुगेको छ भने करिब ४६० घरमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। आइतबार बिहानसम्म अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले यस भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेका छन्। साथै, जापानका आणविक ऊर्जा केन्द्रहरूमा पनि कुनै असामान्य अवस्था नदेखिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर