रसुवा बाढीमा १,२५२ जनाको मृत्यु, ४,३१६ अझै सम्पर्कविहीन : उद्धार र राहत तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित आसपासका जिल्लामा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको भदौ १८ गते मध्याह्न १२ बजेसम्मको विवरणअनुसार बाढी तथा पहिरोमा परी १ हजार २५२ जनाको मृत्यु भएको छ भने ४ हजार ३१६ जना अझै सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोज तथा उद्धारसँगै घाइतेको उपचार, राहत वितरण र विस्थापितलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ।

१ हजार २५२ जनाको मृत्यु

प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको छ। शव फेला परेका जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३५५, नवलपरासी पूर्वमा २९८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७ र रसुवामा १३७ जनाको मृत्यु भएको विवरण छ।

त्यस्तै, गोर्खामा ६६, धादिङमा ६० र तनहुँमा ३८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

४ हजार ३१६ जना अझै सम्पर्कविहीन

विपद्मा परी ४ हजार ३१६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत छन्।

रसुवा र नुवाकोट क्षेत्रमा मात्रै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। यसबाहेक विदेशी नागरिक, विदेशी पर्यटकसँग गएका नेपाली, जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति, स्थानीय तहका कर्मचारी तथा अन्य नागरिकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

करिब १२ हजारको उद्धार

विपद्पछि हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाई माध्यमबाट मात्रै विदेशी नागरिक १७३ जना र नेपाली नागरिक ४ हजार ९१ जनाको उद्धार गरेको छ।

नेपाली सेनाले हालसम्म १७५ पटक हवाई उडान सञ्चालन गरेको छ भने काठमाडौं उपत्यकाबाट निजी क्षेत्रका हेलिकोप्टरमार्फत समेत १२९ पटक उद्धार उडान गरिएको प्राधिकरणले जनाएको छ।

५ हजारभन्दा बढी घाइतेको उपचार

बाढी तथा पहिरोबाट घाइते भएका ५ हजार १३५ जनाले उपचार सेवा पाएका छन्। विभिन्न अस्पतालमा ३०९ जना, नेपाली सेनाबाट ३ हजार २०६ जना तथा सशस्त्र प्रहरी बलबाट १ हजार ६२८ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन्।

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

उद्धार, खोज तथा राहत कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी रहेका छन्।

हजारौँ विस्थापित सुरक्षित आवास केन्द्रमा

विपद्बाट प्रभावित तथा विस्थापित ३ हजार ९४८ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। नुवाकोटमा २ हजार ८६१, रसुवामा ३२०, धादिङमा २६० र काठमाडौंमा ३०७ जना सुरक्षित आवास केन्द्रमा रहेका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री पठाइँदै

सरकार तथा विभिन्न निकायले प्रभावित क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री पठाउने कामलाई निरन्तरता दिएका छन्। काठमाडौंमा ४५ ट्रक र ३७ बोलेरोमार्फत राहत सामग्री पठाइएको छ भने हेलिकोप्टरबाट समेत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

यसैगरी, सशस्त्र प्रहरी बलमार्फत नुवाकोट र रसुवा जिल्लाका विभिन्न क्षेत्रमा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ।

चार जिल्लामा करोडौँ रुपैयाँ नगद राहत

नेपाल सरकारले प्रभावित क्षेत्रका लागि नगद राहतसमेत उपलब्ध गराएको छ। विवरणअनुसार रसुवा र नुवाकोटमा १–१ करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।

इन्धन र सञ्चार सेवा प्रभावित

बाढीबाट प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन डिजेल, पेट्रोल तथा हवाई इन्धनको मौज्दात व्यवस्थापन गरिएको छ। प्रभावित क्षेत्रमा हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको विवरणमा उल्लेख छ।

बाढीका कारण सञ्चार सेवामा समेत क्षति पुगेको छ। नेपाल टेलिकमका ११० वटा टावरमा क्षति पुगेकोमा हाल सबै सञ्चालनमा ल्याइएको तथा एनसेलका ७८ वटा टावरमा क्षति पुगेकोमा ७५ वटा टावर सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धार अझै जारी

भोटेकोशी बाढी तथा त्यसबाट सिर्जित विपद्ले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राखेको छ। ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।

प्राधिकरणको अद्यावधिक विवरणअनुसार विदेशी नागरिक, विदेशी पर्यटकसँग गएका नेपाली, उपचाररत व्यक्ति तथा उद्धार गरिएका व्यक्तिको विवरणमा थप अद्यावधिक हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर