इरानको संवेदनशील परमाणु क्षेत्रमा चाँडै हमला गर्ने ट्रम्पको चेतावनी

२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको अत्यधिक सुरक्षित ‘पिक्याक्स माउन्टेन’ क्षेत्रमा चाँडै अमेरिकी हमला हुन सक्ने चेतावनी दिएका छन् ।

शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इरानस्थित उक्त क्षेत्रमा अमेरिकी सेनाले छिट्टै कारबाही गर्न सक्ने बताएका हुन् ।

नताञ्ज परमाणु केन्द्रनजिक रहेको ‘पिक्याक्स माउन्टेन’ क्षेत्र रणनीतिक रूपमा निकै संवेदनशील मानिन्छ । उक्त क्षेत्रमा जमिनमुनि अत्यन्त गहिराइमा दुईवटा सुरुङ रहेको बताइन्छ, जसका कारण यो क्षेत्र इरानको महत्वपूर्ण र सुरक्षित सैन्य–परमाणु संरचनामध्ये एक मानिन्छ ।

यसैबीच, ट्रम्पले इरानसँग जारी अमेरिकी सैन्य तनावलाई पूर्ण युद्धका रूपमा परिभाषित गर्न नहुने दाबी गरेका छन् । उनले आफूले यसलाई ‘सैन्य संघर्ष’ का रूपमा हेर्ने बताएका छन् ।

“धेरै मानिस यसलाई युद्ध भन्दैनन् । म यसलाई सैन्य संघर्ष भन्छु,” ट्रम्पले भने, “किनकि यो हाम्रा लागि निकै मामुली कुरा हो । यो कुनै ठूलो कुरा होइन।”

ट्रम्पले आफ्नो भनाइ पुष्टि गर्न विगतका अमेरिकी सैन्य कारबाहीसँग इरानमा जारी संघर्षको तुलना गरेका छन् । उनले भेनेजुएलामा भएको अमेरिकी कारबाहीको उदाहरण दिँदै त्यहाँ अमेरिकातर्फ कुनै मानवीय क्षति नभएको दाबी गरे । उनका अनुसार इरानसँगको जारी संघर्षमा भने हालसम्म १८ अमेरिकी सैनिकको ज्यान गएको छ ।

ट्रम्पले भियतनाम युद्धको प्रसंगसमेत उल्लेख गर्दै त्यस युद्धमा अमेरिकाले ठूलो मानवीय क्षति व्यहोरेको र करिब एक लाख अमेरिकी नागरिकको ज्यान गएको दाबी गरे । त्यसको तुलनामा इरानसँगको हालको सैन्य संघर्ष निकै सानो रहेको उनको भनाइ छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा महिनौंदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ का रूपमा व्याख्या गर्न नहुने धारणा सार्वजनिक गरेका थिए ।

इरानको संवेदनशील परमाणु संरचनामाथि सम्भावित अमेरिकी कारबाहीको चेतावनीसँगै मध्यपूर्वमा जारी तनाव थप गहिरिन सक्ने आशंका गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खबर