काठमाडौँ — ढाकामा जारी महिला साफ यू–२० च्याम्पियनसिप उपाधिको निर्णय अन्तिम खेलबाट हुने भएको छ। प्रतियोगिता अन्त्यतिर पुग्दै गर्दा घरेलु टोली बंगलादेश शीर्ष स्थानमा रहँदै उपाधिको बलियो दावेदार बनेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ।
बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को शानदार जित दर्ता गर्यो। कुसुम खतिवडा र समिक्षा मगरले २–२ गोल गर्दा पूर्णिमा राई, सरिता कुमारी नाथ, र बिर्सना चौधरीले एक–एक गोल गरे। बिर्सनाको गोल पेनाल्टीबाट भएको थियो भने अर्को पेनाल्टीमा अनिशा राई चुकिन्।
त्यसपछि भएको अर्को खेलमा बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्दै लगातार चौथो जित निकाल्यो। श्रीमोति तृष्णा रानीले दुई र सपना रानीले एक गोल गरिन्। यो जितसँगै बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने नेपाल ९ अंकमा दोस्रो स्थानमा छ। नेपालको एकमात्र हार बंगलादेशसँग भएको हो।
डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको प्रतियोगितामा अब नेपालले भुटान र बंगलादेशले श्रीलंकासँग खेल्नेछ। अन्तिम दिनको दोस्रो खेल नेपाल र बंगलादेशबीचको हुनेछ, जसलाई उपाधि भिडन्तकै रूपमा हेरिएको छ।
खेलपछि नेपाली टिमका प्रशिक्षक याम गुरुङले श्रीलंकाविरुद्धको जितमा सन्तोष व्यक्त गर्दै बंगलादेशविरुद्धको खेल निर्णायक हुने बताए। प्रमुख खेलाडी मीना देउवाले टिमको समन्वय राम्रो भएकाले सहज जित सम्भव भएको बताइन् र बाँकी खेलमा पनि जित्ने आत्मविश्वास रहेको बताइन्।
प्रतियोगितामा भुटान एक जितसहित तेस्रो स्थानमा छ भने सबै चार खेल हार्दै श्रीलंका अन्तिम स्थानमा रहेको छ।




