प्रतिनिधि सभा बैठकमा आज सञ्चय कोष र कानुन आयोग संशोधन विधेयकमाथि छलफल

काठमाडौं, २६ भदौ ०८३ प्रतिनिधि सभाको आजको बैठकमा दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदैछ । दोस्रो अधिवेशनको ५३औं बैठक दिउँसो १ बजे बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रस्ताव पारित भएपछि विधेयकहरू दफावार छलफलका लागि समितिमा पठाउने वा सदनमै छलफल गर्ने निर्णय हुनेछ ।

सञ्चय कोष संशोधन विधेयकले पाँच वर्ष सेवा गरेका सञ्चयकर्ताले ६० प्रतिशतसम्म रकम झिक्न पाउने हालको व्यवस्था हटाई सापटीमा सीमित गर्ने, कोषको सञ्चालक समिति र प्रशासकको कार्यकाल छोट्याउने तथा पुँजी बजारमा लगानीका लागि कम्पनी स्थापना गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

त्यस्तै, कानुन आयोग संशोधन विधेयकमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति अध्यक्ष हुने हालको व्यवस्था हटाई कानुनमन्त्री नै पदेन अध्यक्ष हुने र १५ वर्ष अनुभव भएका तीन सदस्य नियुक्त गर्ने प्रस्ताव गरिएको छ । यो विधेयक साउन २८ गते दर्ता भई गत २४ भदौमा सदनमा पेस भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर