रसुवा बाढीमा खोज तथा उद्धार तीव्र, १३ हजार ९०२ जनाको उद्धार

काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोपछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न सुरक्षा निकायको समन्वयमा १३ हजार ९०२ जनाको उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारसँगै राहत सामग्री वितरण, विस्थापितको व्यवस्थापन र प्रारम्भिक क्षतिको मूल्याङ्कनसमेत भइरहेको छ।

३३६ जनाको उपचार, २६६ जना डिस्चार्ज

बाढी तथा विपद्बाट प्रभावित ३३६ जनाको उपचार गरिएको छ। उपचार गराइरहेकामध्ये २६६ जना डिस्चार्ज भइसकेका छन् भने विभिन्न सुरक्षा निकायबाट घाइते तथा प्रभावितको उपचारसमेत भइरहेको जनाइएको छ।

त्यस्तै, बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए नमुना संकलन कार्य पनि जारी छ। हालसम्म १ हजार २८६ मृतक र १ हजार १५१ आफन्तको नमुना संकलन गरिएको विवरणमा उल्लेख छ।

१ हजार ९३० जना बेपत्ता

विपद्पछि कुल १ हजार ९३० जना बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकाय परिचालन गरिएको छ।

नेपाली सेनाले मात्रै १ हजार ४९५ वटा हवाई उडान गरेको छ भने सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीबाट समेत उद्धार तथा राहत कार्यका लागि विभिन्न उडान सञ्चालन गरिएको छ।

३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा

विस्थापित तथा प्रभावित नागरिकको अस्थायी व्यवस्थापनका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती केन्द्रमा हाल नुवाकोटमा २ हजार ६१५, रसुवामा ८३९ र धादिङमा २९५ जना रहेका छन्।

राहत सामग्री वितरण निरन्तर

सडक तथा हवाई माध्यमबाट खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा निरन्तर पठाइएको प्राधिकरणले जनाएको छ। राहत सामग्री व्यवस्थापनमा सरकारी, गैरसरकारी, निजी क्षेत्र, विकास साझेदार तथा नागरिक समाजबाट समेत सहयोग भइरहेको छ।

प्रारम्भिक क्षतिको विवरण सार्वजनिक

रसुवा बाढीबाट प्रभावित जनसङ्ख्या ३२ हजार ३२६ रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। प्रभावित घरपरिवारको संख्या ६ हजार ३७१ तथा प्रभावित निजी भवन ७ हजार ५९० रहेको छ।

सामाजिक क्षेत्रमा ४४ वटा सार्वजनिक भवन, ३० वटा सम्पदा स्थल, १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्था प्रभावित भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ।

यस्तै, पूर्वाधारतर्फ १३ वटा जलविद्युत् आयोजना, ६८ किलोमिटर सडक, ४४३ किलोमिटर पाइपलाइन र ३७ वटा मोटरेबल पुल प्रभावित भएको विवरणमा उल्लेख छ।

प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिको थप विस्तृत मूल्याङ्कन तथा प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यकताको पहिचान गर्ने कार्यसमेत अघि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर