४ असोज २०८३, काठमाडौं । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोपछि खोज, उद्धार, उपचार र राहत कार्यलाई तीव्रता दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय र विभिन्न निकायबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार उद्धार तथा राहत कार्य निरन्तर भइरहेको छ।
प्रतिवेदनअनुसार हालसम्म १३ हजार ७८४ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोज कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय परिचालित छन्। सुरक्षा निकायबाट मात्रै २० हजार १३५ जना जनशक्ति परिचालन गरिएको जनाइएको छ।
मानवीय क्षति
बाढी तथा पहिरोबाट विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ। प्रतिवेदनमा चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको मृत्यु भएको उल्लेख छ। अन्य जिल्लासहित कुल मृत्यु हुनेको संख्या १ हजार ४९९ पुगेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, बेपत्ताको विवरणमा रसुवा र नुवाकोटमा स्थानीय तथा अन्य जिल्लाबाट पुगेका नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत रहेको जनाइएको छ।
२४ होल्डिङ सेन्टर सञ्चालनमा
विस्थापित तथा प्रभावित नागरिकको व्यवस्थापनका लागि २४ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन्। तीमध्ये नुवाकोटमा ४२७, रसुवामा १९४ र धादिङमा १२१ जना रहेको प्रतिवेदनमा उल्लेख छ।
होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारका लागि वैकल्पिक बसोबास तथा जीविकोपार्जन सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसअन्तर्गत ६ जनासम्मको परिवारलाई प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। परिवारमा ६ जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँ थप गरिने व्यवस्था गरिएको छ।
उपचार तथा स्वास्थ्य सेवा
हाल विभिन्न ६ वटा अस्पतालमा १८ जना उपचाररत रहेका छन्। विभिन्न सुरक्षा निकायमार्फत उपचार गराइएका व्यक्तिको संख्या भने १० हजार ४९ रहेको प्रतिवेदनमा उल्लेख छ।
मृतक तथा आफन्तको पहिचानका लागि डीएनए नमुना संकलन कार्यसमेत जारी रहेको छ। हालसम्म १ हजार २८६ मृतक र १ हजार २९१ आफन्तको नमुना संकलन गरिएको जनाइएको छ।
नेपाली सेनाको हवाई उद्धार जारी
उद्धार तथा राहत सामग्री पुर्याउन नेपाली सेनाले हवाई साधन परिचालन गरेको छ। प्रतिवेदनअनुसार नेपाली सेनाबाट १ हजार ६९२ हवाई उडान भइसकेका छन् भने सशस्त्र प्रहरी बल, नेपालबाट समेत ३२० वटा उडान भएका छन्।
प्राधिकरणले खोज, उद्धार, उपचार, शव पहिचान, बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित परिवारको पुनःस्थापनाका लागि सम्बन्धित निकायबीच समन्वय गरी काम भइरहेको जनाएको छ।
नोट : प्रतिवेदनमा उल्लेखित तथ्यांक २०८३ असोज ३ गते बिहान ९ बजेसम्म जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा तयार गरिएको हो।




