गाजामा युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास सहमत, इजरायल मौन

काठमाडौँ — गाजामा जारी युद्धबीच शान्तिको प्रयासस्वरूप आएको नयाँ प्रस्तावमा प्यालेस्टिनी सशस्त्र समूह हमासले सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो प्रस्ताव युद्धविराम र इजरायली बन्धकको रिहाइ दुवैलाई समेटेर ल्याइएको हो।

मिस्र र कतारको मध्यस्थतामा आएको यो प्रस्ताव गत जुन महिनामा अमेरिकी दूत स्टिभ विटककले प्रस्तुत गरेको खाकामाथि आधारित रहेको बताइएको छ। प्रस्तावअनुसार पहिलो चरणमा ६० दिन लामो युद्धविराम लागू गरिनेछ। त्यसपछि हमासको नियन्त्रणमा रहेका ५० इजरायली बन्धकलाई दुई चरणमा रिहा गर्ने योजना रहेको छ। यीमध्ये करिब २० जना मात्र जीवित रहेको विवरणमा उल्लेख गरिएको छ।

हमास निकट स्रोतले यस प्रस्तावलाई स्वीकार गरेको पुष्टि गरे पनि, इजरायली पक्षले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। अन्तर्राष्ट्रिय समुदाय भने यो सहमति युद्ध रोक्ने र मानवीय संकट कम गर्ने दिशामा सकारात्मक कदम हुने अपेक्षा राखिरहेको छ।

यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत साता मात्रै सबै बन्धकको रिहाइ भएपछि मात्र आफ्नो देश कुनै सम्झौतामा तयार हुने बताएका थिए। नेतान्याहुको पछिल्लो भनाइ र हमासको सहमतिबीच ठूलो विरोधाभास देखिएको छ, जसले यो प्रस्ताव कार्यान्वयन हुने–नहुनेबारे अझै अनिश्चितता पैदा गरेको छ।

गाजामा महिनौँदेखि जारी युद्धका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन्। यस्तो अवस्थामा आएको यो प्रस्तावले शान्ति प्रक्रियालाई केही आशा भने जगाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर