लगातार चौथो हारसँगै नेपाल एएफसी एसियन कप छनोटबाट बाहिर

२८ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार समूह ‘एफ’ अन्तर्गत भियतनामविरुद्धको खेलमा १–० को हार बेहोरेपछि नेपाल दुई खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

हो चि मिन सिटीस्थित थोङ न्हाट स्टेडियममा भएको खेलमा पाँचौं मिनेटमै सुमन श्रेष्ठको आत्मघाती गोलले भियतनामलाई जित दिलायो । पहिलो हाफमा आत्मघाती गोलका कारण पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल फर्काउन सकेन ।

कप्तान किरण चेम्जोङले खेलभर उत्कृष्ट बचाउ गर्दै थप गोल हुन दिएनन् । यस हारसँगै नेपालले समूह चरणमा लगातार चौथो हार बेहोरेको हो ।

नेपालले यसअघि भियतनामसँगै भएको अवे खेलमा ३–१, मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो । चारै खेल हारेको नेपाल अंकविहिन रहँदै समूहको पुछारमा छ ।

आजै भएको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले पराजित गर्दै १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भियतनाम ९ अंकसहित दोस्रो स्थानमा छ ।

आजको खेलमा रोहित चन्दले नेपालको लागि ऐतिहासिक १००औं अन्तर्राष्ट्रिय खेल खेलेका छन् । कप्तान किरण चेम्जोङपछि १०० खेल पूरा गर्ने उनी दोस्रो नेपाली खेलाडी बनेका छन् ।

नेपालले अब बाँकी दुई खेलमा मलेसिया र लाओससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ, तर छनोटको सम्भावना सकिएको छ ।


प्रतिक्रिया
सम्बन्धित खबर