इजरायलका पूर्वराजदूत गोदारको श्रद्धाञ्जली : “ऊर्जावान र क्षमतावान विपिनलाई सधैं सम्झिरहने छु”

२८ असोज, काठमाडौं । नेपालका लागि इजरायलका पूर्वराजदूत हानान गोदारले हमास विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वराजदूत गोदारले सामाजिक सञ्जाल फेसबुकमा विपिनसँगको भेटका क्षणहरू सम्झिँदै उनलाई ‘ऊर्जावान र क्षमतावान युवा’ भन्दै श्रद्धापूर्वक सम्झेका हुन् ।

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनलाई बिदाइ गर्दा खिचिएको तस्वीर साझा गर्दै गोदारले लेखेका छन्, “दुई वर्षको आशा आज अन्त्य भयो।”

उनले थप लेखेका छन्, “विपिन ऊर्जावान र क्षमतावान विद्यार्थी थिए, जो आफ्नो परिवार, समुदाय र देशका लागि केही योगदान गर्न उत्साहित थिए।” गोदारले विपिनको आत्माको शान्तिको कामना गर्दै भनेका छन्, “म उनलाई सधैं सम्झिरहने छु।”

हमासको इजरायलस्थित किवुत्ज क्षेत्रमा भएको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी वेपत्ता भएका थिए । मंगलबार हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको र डिएनए परीक्षणपछि मात्रै औपचारिक रूपमा पुष्टि हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर