इलाम, असोज २८ — मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिएको थियो। तर दश दिन बितिसक्दा पनि उक्त वैकल्पिक मार्ग सञ्चालनमा आउन सकेको छैन, जसका कारण यात्रु र यातायात व्यवसायीले ठूलो सास्ती भोगिरहेका छन्।
सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माणको प्रयास भइरहेको छ। तर खोलामा पानीको तीव्र बहाव र आवश्यक ह्युमपाइपको अभावका कारण तत्काल सञ्चालन गर्न नसकिएको उनले बताए।
“हाम्रो धेरै समय राजदुवाली क्षेत्रमा बित्यो, तर बाटो पार गर्न नसकिएपछि अहिले जोगमाई खोलामा डाइभर्सन निर्माणमा जुटिरहेका छौं,” भट्टराईले भने, “ह्युमपाइप पाँचथरबाट मगाइएको छ र मङ्गलबारसम्म आइपुग्ने अपेक्षा छ।” हाल सो स्थानमा चारवटा स्काभेटर परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवालासँगको स्थलगत निरीक्षणपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भने, “सडक खुलाउन प्रयास जारी छ। प्राविधिक पक्ष सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौं।”
गत असोज १८ गतेको बाढीले बेलीब्रिज बगाएपछि इलाम–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। असारमा मात्रै निर्माण सम्पन्न गरिएको उक्त पुल बगाएपछि इलाम सदरमुकामबाट गोदक जोड्ने वैकल्पिक बाटो पनि अवरुद्ध भएको हो।
हाल तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा आएका छन्। तर तीव्र मोड र साँघुरोपनाका कारण ठूला तथा मालवाहक सवारी सञ्चालन गर्न अझै कठिनाइ रहेको प्रजिअ नेपालले जानकारी दिए।
लगातारको वर्षा र पहिरोका कारण विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापा, पाँचथर र ताप्लेजुङसँग सडक सञ्जालबाट विच्छेद भएको छ। जटिल भौगोलिक संरचनाका कारण तत्काल पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन नसकिने सडक डिभिजनका प्रमुख भट्टराईले बताए।




