काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक (General Manager) अब खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट चयन गरिने भएको छ।
पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा योग्य उम्मेदवारहरूको छनोट र सिफारिसका लागि समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार सो समितिको गठन गर्ने निर्णय गरेकी हुन्।
गठित समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा मनोनीत भएका छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव सदस्य–सचिव रहने छन्।
समितिले एक महिनाभित्र योग्य उम्मेदवारहरूलाई खुला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्नुपर्नेछ। नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमका वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन्।
त्यस्तै, अर्को व्यवस्था नहुँदासम्म निगमको सञ्चालक समिति अध्यक्षको काम उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन्।




