काठमाडौं । कमजोर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज अपराह्न पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार उक्त प्रणाली निकै कमजोर रहेकाले व्यापक वर्षाको सम्भावना भने छैन। “कमजोर पश्चिमी वायुले मंगलबार अपराह्न पश्चिम नेपालमा हल्का वर्षा गराउने देखिएको छ,” पोखरेलले बताए।
उनका अनुसार यो प्रणाली काठमाडौंसम्म पुग्ने सम्भावना छैन। यद्यपि, यसको प्रभावका कारण काठमाडौंमा बुधबारसम्म आंशिक बदली रहने र घाम कम लाग्ने सम्भावना रहेको उनले जानकारी दिए। पोखरेलका अनुसार बिहीबारबाट मौसम पुनः घमाइलो हुने अपेक्षा गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मंगलबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भागमा केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।




