श्रीलंकामा ‘दितवा’ तूफानको प्रकोपः बाढी–पहिरोबाट १३२ को मृत्यु, देशभर आपतकाल घोषणा

श्रीलंका पछिल्ला आठ वर्षयताको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिको चपेटामा परेको छ। ‘दितवा’ नामक शक्तिशाली तूफानसँगै आएको अविरल वर्षाले बाढी–पहिरो निम्त्याउँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना अझै बेपत्ता छन्।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेका छन्। सरकारले विदेशमा रहेका श्रीलंकाली नागरिकहरूलाई पनि आर्थिक सहयोगस्वरूप रकम पठाउन आग्रह गरेको छ।

विपद् व्यवस्थापन विभागका अनुसार १५ हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन्। ७८ हजारभन्दा बढी नागरिकलाई अस्थायी सरकारी शिविरहरूमा स्थानान्तरण गरिएको छ। राहत तथा उद्धारका लागि सेना, वायुसेना र नौसेनालाई व्यापक रूपमा परिचालन गरिएको छ।

मध्य श्रीलंकाको बादुल्ला जिल्ला पूर्ण रूपमा सडक सम्पर्कविहीन बनेको छ, जसका कारण ग्रामीण बस्तीहरूमा राहत पुर्‍याउन कठिनाइ भएको स्थानीय अधिकारीहरूले बताएका छन्। अत्यधिक प्रभावित मास्पान्ना गाउँमा खाना र पिउने पानीसमेत अभाव भएको स्थानीय बासिन्दाहरूले बताए।

देशको एक तिहाइ भूभागमा विद्युत् आपूर्ति ठप्प छ भने धेरै पानी शुद्धीकरण केन्द्रहरू डुबानमा परेका छन्। इन्टरनेट र संचार सेवा पनि धेरै ठाउँमा अवरुद्ध छन्।

यस बीच, भारतले सबैभन्दा पहिले राहत सामग्री पठाएको छ। दुई विमान मार्फत सहयोग पुर्‍याइएको छ भने कोलम्बोमा रहेको भारतीय जहाजले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न वितरण गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थप सहयोग गर्ने आश्वासन दिएका छन्।

‘दितवा’ तूफान अब भारततर्फ सरिरहेको भारतीय मौसम विभागले जनाएको छ। चेन्नई विमानस्थलमा ५४ उडान रद्द गरिएका छन् र आगामी ४८ घण्टामा भीषण वर्षाको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर