हेटौँडा मुख्य सडक विस्तार सुरु : सडक सीमाभित्रका संरचना जेसिबीमार्फत हटाइना थाले

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्य सडक विस्तार कार्य आज बिहानदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। सडक सीमाभित्र पर्ने स्थायी तथा अस्थायी भौतिक संरचनाहरू हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले जेसिबी प्रयोग गर्दै बजार क्षेत्रमा डोजर सञ्चालन गरेको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० को राप्ती रोड क्षेत्रबाट संरचना हटाउने कार्य सुरु गरिएको सडक डिभिजनका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए। मुख्य बजार क्षेत्रमा २५/२५ गज सडक विस्तारका लागि गरिएको सूचनाअनुसार तोकिएको समयभित्र संरचना नहटेकाले बलपूर्वक हटाउने प्रक्रिया अघि बढाइएको हो।

यसअघि मङ्सिर ५ गते जारी सार्वजनिक सूचनामार्फत रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्म सडकको मध्य रेखाबाट दायाँ–बायाँ २५/२५ गजभित्र निर्माण भएका संरचना १५ दिनभित्र हटाउन भनिएको थियो।

संरचना हटाउने क्रममा स्थानीय अवरोध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूको बाक्लो व्यवस्था मिलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर