

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अब निर्णायक मोडमा पुगेको छ। प्रतियोगितामा अब केवल दुई खेल र तीन टोली मात्र बाँकी छन्। तीनमध्ये सुदूरपश्चिम रोयल्सले पहिले नै फाइनलमा स्थान पक्का गरिसकेको छ। अब अर्को फाइनलिस्ट कुन टोली बन्ने हो, त्यसको टुङ्गो आज लाग्दैछ।
आज अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। लुम्बिनीले २४ घण्टाभित्रै दोस्रो खेल खेल्दै मैदानमा उत्रिँदैछ भने विराटनगर हारपछि पुनरागमनको लक्ष्यसहित मैदानमा झर्ने तयारीमा छ।
नकआउटको दबाबपूर्ण परिस्थितिमा दुवै टोलीले आफ्नो क्षमताको उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ। आजको खेलमा जित हात पार्ने टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ भने पराजित टोलीको यात्रा तेस्रो स्थानमै रोकिनेछ।




