रवि लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालत बुटवलको आदेशपछि नख्खु कारागारबाहिर समर्थकको उल्लेख्य उपस्थिति

३ पुस, काठमाडौं । उच्च अदालत बुटवलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि नख्खु कारागारबाहिर समर्थकहरूको उल्लेख्य भीड देखिएको छ। अदालतको आदेश सार्वजनिक भएसँगै उनलाई स्वागत गर्न समर्थकहरू बाक्लो संख्यामा कारागार परिसरबाहिर जम्मा भएका हुन्।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्ने आदेश जारी गरेको हो। आदेशसँगै अदालतले तीनवटा शर्तसमेत तोकेको छ, ती शर्तहरू पूरा भएपछि मात्रै उनी रिहा हुनेछन्।

जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार थुनामुक्तिका लागि आवश्यक कानुनी प्रक्रिया पूरा हुन बाँकी छ। उच्च अदालत बुटवलको आदेश औपचारिक रूपमा जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्नेछ। कार्यालय समय समाप्त भइसकेकाले उक्त आदेश शुक्रबार मात्रै जिल्ला अदालतमा प्राप्त हुने जानकारी दिइएको छ।

आदेश प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी लामिछानेलाई थुनामुक्त गरिने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर