बंगलादेशमा एक हिन्दु युवकको हत्या घटनालाई लिएर भारत र बंगलादेशबीच कूटनीतिक तनाव बढ्दै गएको छ। दुवै देशले एकअर्कामाथि आरोप लगाउँदै सार्वजनिक रूपमा कडा बयानबाजी गरेका छन्।
गत साता भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बंगलादेशको मैमनसिंह जिल्लामा दिपुचन्द्र दास नामक हिन्दु युवकको हत्या भएको घटनाको निन्दा गर्दै बंगलादेशमा हिन्दु, क्रिश्चियन, बौद्ध लगायत अल्पसंख्यक समुदायको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। भारतीय विदेश मन्त्रालयको भनाइलाई उद्धृत गर्दै बीबीसीले पनि बंगलादेशमा अल्पसंख्यकहरू असुरक्षित बन्दै गएको उल्लेख गरेको छ।
यसको जवाफमा आइतबार बंगलादेशले भारतको उक्त टिप्पणीलाई अस्वीकार गर्दै त्यसलाई ‘लक्षित र भ्रामक टिप्पणी’ भनेको छ। बंगलादेशको विदेश मन्त्रालयका अनुसार भारतको भनाइले बंगलादेशको वास्तविक अवस्था प्रतिबिम्बित गर्दैन।
बंगलादेशी विदेश मन्त्रालयले दिपुचन्द्र दास आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै उनको मृत्यु अल्पसंख्यकविरुद्धको हिंसाका रूपमा प्रस्तुत गर्नु गलत भएको जनाएको छ। मन्त्रालयका अनुसार घटना त्यस बेला भएको हो, जब दास आफ्नै मुस्लिम साथीबाट पैसा उठाउने क्रममा विवादमा परेका थिए र पछि प्रहरीद्वारा पक्राउ गरिएको थियो।
उक्त घटनामा मैमनसिंह जिल्लाको भालुका क्षेत्रमा ‘धर्मको अपमान’ गरेको आरोपमा भीडले कुटपिट गरी हत्या गरिएको समाचार सार्वजनिक भएको थियो। स्थानीय प्रहरीका अनुसार युवकको हत्या गरी शवलाई रूखमा बाँधेर आगो लगाइएको थियो।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको कडा निन्दा गर्दै ‘नयाँ बंगलादेशमा यस्ता हिंसात्मक कार्यका लागि कुनै स्थान छैन’ बताएका छन्। उनले दोषीलाई कडा सजाय दिइने प्रतिबद्धता पनि जनाएका थिए।
त्यसपछि भारतको राजधानी नयाँदिल्लीस्थित बंगलादेश दूतावास अगाडि भएको प्रदर्शनले दुई देशबीचको सम्बन्ध थप चिसिएको छ। भारतले उक्त प्रदर्शनबारे केही बंगलादेशी सञ्चारमाध्यममा भ्रामक प्रचार गरिएको दाबी गरेको छ भने बंगलादेशले पनि यस्ता गतिविधिले द्विपक्षीय सम्बन्धमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ।
यसै सन्दर्भमा बंगलादेशी विदेश मन्त्रालयका प्रवक्ता एसएम महबूबुल आलमले पत्रकार सम्मेलन गर्दै भारतको आरोपको कडा खण्डन गरेका छन्। उनले भने, “भारतको बयानले बंगलादेशको वास्तविक अवस्था प्रस्तुत गर्दैन। बंगलादेश सरकार यस्ता गलत, बढाइचढाइ गरिएका वा जानाजानी तोडमोड गरिएका कथनहरू पूर्ण रूपमा अस्वीकार गर्छ।”
आलमले उल्टै भारतमै पनि अल्पसंख्यकमाथि चिन्ताजनक घटनाहरू भइरहेका दाबी गर्दै मुसलमान, क्रिश्चियन लगायत समुदायमाथि भएका हत्या, दुर्व्यवहार, मनपरी गिरफ्तारी र धार्मिक कार्यक्रममा हस्तक्षेपप्रति बंगलादेश गम्भीर चिन्तित रहेको बताए। उनले हालै भारतभर क्रिसमसका क्रममा क्रिश्चियन समुदायमाथि भएको हिंसालाई ‘घृणा–अपराध र लक्षित हिंसा’को संज्ञा दिएका छन्।
उता भारतले भने बंगलादेशको अवस्थामाथि ‘नजिकबाट निगरानी’ गरिरहेको जनाउँदै अन्तरिम सरकार गठन भएयता अल्पसंख्यकमाथि करिब २,९०० भन्दा बढी हिंसाका घटना भएको दाबी गरेको छ। जयसवालले ती घटनालाई केवल मिडियाको बढाइचढाइ वा राजनीतिक हिंसा भनेर खारेज गर्न नमिल्ने बताएका छन्।
यसबीच बंगलादेशमा विद्यार्थी नेता शरीफ उस्मान हादीको गोली हानी हत्या भएपछि देशमा हिंसात्मक गतिविधि थप बढेको छ। उनी सन् २०२४ मा शेख हसिनालाई सत्ताबाट हटाउने आन्दोलनका लोकप्रिय नेतामध्ये एक थिए। ढाका महानगरीय प्रहरीले उनको हत्या आरोपमा दुई जना संदिग्ध भारत भागेको दाबी गरेको छ। तर यस विषयमा भारत सरकार वा मेघालय राज्य सरकारले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यी घटनाक्रमले छिमेकी राष्ट्र भारत र बंगलादेशबीचको सम्बन्ध थप संवेदनशील बन्दै गएको संकेत गरेका छन्।




