काठमाडौँ — इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ । हृदयघात भएपछि उनलाई नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । “दार्जिलिङमा रहनु भएका संगीतकर्मी साथीहरूले उहाँको निधनबारे जानकारी दिनु भएपछि थाहा पाएँ,” खरेलले लेखेका छन् ।
दार्जिलिङदेखि इन्डियन आइडलसम्म
पश्चिम बङ्गालको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले इन्डियन आइडल सिजन–३ जितेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका थिए । प्रतियोगितामा विजेता बनेपछि उनी नेपाली र हिन्दी संगीत क्षेत्रमा लोकप्रिय बने । इन्डियन आइडलअघि उनी कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा कार्यरत थिए, तर संगीतप्रतिको लगावले उनलाई गायन क्षेत्रमा ल्यायो ।
संगीत र अभिनय यात्रा
तामाङले नेपाली र हिन्दी दुवै भाषामा थुप्रै गीत गाएका थिए । साथै उनले नेपाली चलचित्रहरूमा अभिनय गरेर दर्शकको मन जितेका थिए । पछिल्लो समय उनी वेब सिरिज र अन्य प्रोजेक्टमार्फत अभिनयमा पनि सक्रिय थिए ।
श्रद्धाञ्जलीको ओइरो
उनको निधनपछि नेपाल, भारत तथा विश्वभर रहेका नेपाली समुदायमा शोकको लहर फैलिएको छ । कलाकार, संगीतकर्मी र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । धेरैले उनलाई सरल स्वभावका, अनुशासित र प्रेरणादायी कलाकारका रूपमा सम्झिरहेका छन् ।
प्रशान्त तामाङको असामयिक निधनले नेपाली तथा भारतीय संगीत क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ । उनका गीत, स्वर र योगदान सधैं संगीतप्रेमीहरूको मनमा जीवित रहनेछन् ।




