५ माघ, काठमाडौं — दक्षिणी स्पेनमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना घाइते भएका छन्। घाइतेमध्ये ३० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले जानकारी दिएका छन्।
मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको रेल कोर्डोबा सहर नजिकको आदामुज नगर क्षेत्रमा लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट म्याड्रिडबाट हुएल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किएको थियो। दुर्घटना स्थानीय समयअनुसार साँझ ६:४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै भएको हो।
निजी रेल कम्पनी इर्योका अनुसार दुर्घटनाग्रस्त रेलमा करिब ३०० यात्रु सवार थिए। अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए।
मन्त्री पुयन्तेले यस दुर्घटनालाई ‘अत्यन्तै अचम्मलाग्दो’ भन्दै ट्रयाक गत वर्ष मे महिनामै मर्मतसम्भार गरिएको जानकारी दिएका छन्। दुर्घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन र अनुसन्धान प्रतिवेदन आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ।
यस घटनाप्रति स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै देशले “गहिरो पीडाको रात” भोग्नुपरेको बताएका छन्। राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश जारी गरेका छन्।
उल्लेखनीय छ, सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटना देशकै सबैभन्दा भयावह दुर्घटना मानिन्छ, जसमा ८० जनाको मृत्यु र १४० जना घाइते भएका थिए।




